काठमाडौं । सरकारले कारागार नियमावली–२०८३ लागू गर्दै कैदीबन्दीका लागि थप सुविधा विस्तार गरेको छ। नयाँ व्यवस्थाअनुसार अब प्रत्येक कैदीबन्दीले हरेक वर्ष नयाँ तन्ना पाउनेछन् भने चाडपर्व खर्च ३ सयबाट बढाएर ५ सय रुपैयाँ पुर्याइएको छ।
मन्त्रिपरिषद्बाट स्वीकृत नियमावलीले कैदीबन्दीलाई स्वास्थ्य बीमा, पति–पत्नी भेटघाटमार्फत प्रजनन अधिकार, र भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित हुने सुविधा पनि दिएको छ।
यस्तै, कारागारभित्र उद्यम केन्द्र सञ्चालन, मनोसामाजिक परामर्शको व्यवस्था, सहुलियत दरमा आवश्यक सामग्री उपलब्ध गराउने तथा कैदीबन्दीको भत्तासमेत व्यक्तिगत बैंक खातामार्फत भुक्तानी गर्ने व्यवस्था गरिएको छ।
नयाँ नियमावलीले खुला कारागारको अवधारणालाई पनि थप व्यवस्थित गर्दै दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई सरकारी आयोजनामा काममा लगाउन सकिने व्यवस्था गरेको छ।






































