काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३र८४ मा संघीय संसद्मा १६६ वटा विधेयक दर्ता गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ती विधेयकलाई प्राथमिकताका आधारमा तीन चरणमा विभाजन गरेर संसद्मा लैजाने कार्ययोजना तयार गरेको हो।

सरकारले पहिलो प्राथमिकतामा ६४, दोस्रोमा ४२ र तेस्रोमा ५७ विधेयक राखेको छ। पहिलो चरणमा साउनदेखि कार्तिक, दोस्रो चरणमा मंसिरदेखि फागुन र तेस्रो चरणमा चैतदेखि असारसम्म विधेयक दर्ता गर्ने तयारी छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०, साइबर सुरक्षा, सूचना प्रविधि, भ्रष्टाचार नियन्त्रण र राष्ट्रिय सतर्कता केन्द्र सम्बन्धी महत्त्वपूर्ण विधेयक संसद्मा दर्ता हुनेछन्।

अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्था (बाफिया), बैंकिङ कसुर र धितोपत्र ऐन संशोधनका विधेयक अघि बढाउनेछ भने गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन, राजनीतिक दल र अध्यागमनसम्बन्धी कानुन संशोधन गर्ने तयारी गरेको छ।

यस्तै शिक्षा मन्त्रालयले विद्यालय शिक्षा, विश्वविद्यालय र विज्ञान–प्रविधि, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा, मानसिक स्वास्थ्य, आईभीएफरसेरोगेसी र सुरक्षित मातृत्व, तथा पूर्वाधार मन्त्रालयले सवारी, सडक सुरक्षा र पानीजहाज सम्बन्धी नयाँ कानुन संसद्मा लैजाने योजना बनाएको छ।

सरकारले आर्थिक सुधार, प्रशासनिक पुनर्संरचना, डिजिटल शासन, शिक्षा, स्वास्थ्य र सुरक्षा क्षेत्रलाई केन्द्रमा राखेर चालु आर्थिक वर्षमा विधेयकको ‘व्यस्त संसद्’ बनाउने तयारी गरेको जनाएको छ।