काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाडौं–तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको सुस्त गतिलाई लिएर राष्ट्रियसभा सदस्यहरूले सरकारको तीव्र आलोचना गरेका छन्। उनीहरूले अहिलेको प्रगति हेर्दा तोकिएको थप चार वर्षभित्र पनि आयोजना पूरा हुने आधार नदेखिएको बताएका छन्।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार बसेको बैठकमा सांसदहरूले स्थलगत अनुगमनको अनुभव सुनाउँदै निर्माण कार्य अपेक्षाभन्दा निकै पछाडि रहेको बताएका हुन्।

समिति सदस्य रञ्जित कर्णले राष्ट्रिय गौरवको आयोजना वर्षौंदेखि निर्माणाधीन रहे पनि अझै सम्पन्न हुने स्पष्ट समयसीमा नदेखिएको बताए। निर्माणस्थलको अवस्था र प्राविधिकसँगको छलफलका आधारमा आगामी चार वर्षभित्र पनि काम सकिने सम्भावना कमजोर रहेको उनको भनाइ थियो।

अर्का सदस्य युवराज शर्माले निर्माणमा देखिएका समस्या समयमै समाधान गर्न नसक्दा आयोजना लगातार पछाडि धकेलिएको उल्लेख गर्दै बजेट व्यवस्थापन र कार्यान्वयन दुवैमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

समितिले यसअघि काठमाडौं–तराई द्रुतमार्ग, नागढुंगा सुरुङमार्ग र राष्ट्रपति चुरे–तराई मधेस संरक्षण कार्यक्रमको स्थलगत अनुगमन गरेको थियो। सो अनुगमनको विस्तृत प्रतिवेदनमाथि आगामी बैठकमा थप छलफल गरिने समितिले जनाएको छ।