काठमाडौं / नेपाल टेलिकमले देशका दुर्गम हिमाली तथा तराईका क्षेत्रमा उच्च गतिको इन्टरनेट र गुणस्तरीय दूरसञ्चार सेवा पहुँच पु–याउने अभियानलाई तीव्रता दिएको छ ।
यसै क्रममा कम्पनीले हुम्लाको केर्मी, नुवाकोटको जिम्नाङ र बाहुनबेसी, रसुवाको टिमुरे तथा बाराको भगवानपुर र मधुरीजाब्दीमा टुजी र फोरजी सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । भौगोलिक रूपमा अति विकट हुम्ला जिल्लाको नाम्खा गाउँपालिकास्थित केर्मी टावर सञ्चालनमा आएसँगै नाम्खा गाउँपालिका वडा नं. २ र ४ अन्तर्गतका केर्मी, च्यादुक र चालागाउँका साथै सिमकोट–हिल्सा सडक खण्ड, तातोपानी खोला पर्यटकीय क्षेत्र, स्थानीय स्वास्थ्य इकाई, सरकारी कार्यालय, विद्यालय तथा गुम्बाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
त्यसैगरी बारा जिल्लाको मधुरीजाब्दी टावरबाट इटहर, औलिया, बेलाही, सिर्सिया, कलैयामाई लगायत क्षेत्रका ४ वटा विद्यालय क्षेत्र र भगवानपुर टावरबाट पटेर्वा, हरिहरपुर, हर्नैयाचोक, सिम्रौनगढ क्षेत्रका ५ वटा विद्यालय क्षेत्र आसपासका बस्तीहरू लाभान्वित भएका छन् ।
रसुवाको टिमुरेस्थित टावरबाट उत्तरी सीमानाका आसपासका बस्तीहरू लाभान्वित भएका छन् भने नुवाकोटको जिम्नाङ टावरबाट दुप्चेश्वर गाउँपालिकाका वडा नं. ३ र ४ तथा बाहुनबेसी टावरबाट तादी, लिखु र चौघडा क्षेत्रका बासिन्दाले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै सो क्षेत्र आसपासका बस्तीहरू लाभान्वित भएका छन् । भएसँगै स्थानीय बासिन्दाहरूले उच्च गतिको डेटा र गुणस्तरीय भ्वाइस सेवाको प्रत्यक्ष लाभ उठाउन पाउनुहुनेछ ।
यस सेवा विस्तारले स्थानीय शिक्षा, स्वास्थ्य, व्यापार, प्रशासनिक कार्य र डिजिटल बैंकिङलाई सहज बनाउनुका साथै पर्यटकीय एवं सीमावर्ती क्षेत्रमा पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ ।






































