काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ।प्रभावित नागरिकलाई तत्काल राहत पु¥याउन संघका पदाधिकारीसहितको टोली बिहीबार नै प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट रसुवा र नुवाकोटमा भएको क्षतिपछि एनआरएनएले तत्काल राहत र उद्धार अभियान अघि बढाएको हो। संघले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाको अध्ययन गर्नुका साथै आवश्यकताका आधारमा राहत सामग्री वितरण, उद्धार तथा स्वास्थ्य सेवामा सहयोग गर्ने जनाएको छ ।

एनआरएनएका अध्यक्ष डा। हेमराज शर्माले रसुवा र नुवाकोटमा भएको विपद्प्रति दुःख व्यक्त गर्दै बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा गैरआवासीय नेपालीलाई सहयोगमा जुट्न आह्वान गरे।

एनआरएनएका उपाध्यक्ष तथा राहत समितीका संयोजक मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले पनि प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर राहतको प्राथमिकता निर्धारण गरिने बताए। 

एनआरएनएका उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका उपसंयोजक प्रविन गुरुङले राहत वितरणसँगै उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिन आफू बाढी प्रभावित क्षेत्रमा पुगिसकेको बताए। प्रभावित क्षेत्रमा पुगेर स्थानीय अवस्था बुझ्ने र तत्काल आवश्यकताका आधारमा थप राहत परिचालन गरिने उनको भनाइ छ।

एनआरएनएका उपाध्यक्ष भीमसेन थापाले रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित नागरिकलाई सहयोग गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई आग्रह गरे। 

एनआरएनएले रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा खाद्यान्न, स्वास्थ्य सामग्री, औषधिलगायत आवश्यक राहत सामग्री वितरण गर्ने तयारी गरेको छ। राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय तह, प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरिने संघले जनाएको छ।

संघका अनुसार तत्कालीन उद्धार र राहतसँगै प्रभावित परिवारको पुनःस्थापनालाई पनि अभियानको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाइनेछ । विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोगलाई एकीकृत गरी वास्तविक रूपमा प्रभावित नागरिकसम्म पु¥याउने गरी अभियान सञ्चालन गरिने एनआरएनएको भनाइ छ।

प्राकृतिक विपद्का बेला नेपाल र नेपालीको साथमा उभिँदै आएको एनआरएनएले यसपटक पनि पदाधिकारीलाई प्रत्यक्ष रूपमा फिल्डमा परिचालन गरेर राहत तथा उद्धार अभियान अघि बढाएको हो ।रसुवा र नुवाकोटका बाढीपीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अभियानमा विश्वभर रहेका नेपालीलाई समेत जोडिन संघले आह्वान गरेको छ।

एनआरएनएका संस्थापक अध्यक्ष एबम मेडिसिटी अस्पतालका अध्यक्ष डा। उपेन्द्र महतोले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तत्काल पु¥याउन विशेष चिकित्सक टोली परिचालन गर्ने बताएका छन् । चिकित्सक टोलीले प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउनेछ।

एनआरएनए टोली राहत तथा उद्धारका लागि विहीबार घटनास्थलतर्फ जाने तयारी भइरहेको संचार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् । फिल्ममा संघका पदाधिकारी तथा विभिन्न देशका राष्ट्रिय समितिका पदाधिकारीहरूको उपस्थिति रहने उनले बताइन ।

संघले नेपाल सरकारसँग प्रत्यक्ष समन्वयका लागि एनआरएनएका पूर्व कार्यकारी अधिकृत रविकिरण अधिकारीलाई फोकल पर्सनको जिम्मेवारी दिएको छ । अधिकारीले प्रधानमन्त्री कार्यालयलगायत सम्बन्धित सरकारी निकायसँग समन्वय गरी प्रभावित क्षेत्रको आवश्यकता, राहतको प्राथमिकता र एनआरएनएबाट उपलब्ध गराइने सहयोगबीच प्रभावकारी समन्वय गर्नेछन ।