काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म ६६९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ हजार ३६२ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ। 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार फेला परेका मृतकमध्ये १४८ महिला, २६८ पुरुष, २२ बालिका र २० बालक रहेका छन।

बाढी तथा पहिरो प्रभावित विभिन्न क्षेत्रमा खोजी गर्ने क्रममा २११ वटा आंशिक मानव अंगसमेत फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये २० वटा पहिचान गरी कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाइसकिएको छ। 

२ हजार ३६२ जना अझै सम्पर्कविहीन

प्रहरीका अनुसार बाढीपछि २ हजार ३६२ जना अझै बेपत्ता छन्। तीमध्ये १ हजार ८६३ जना नेपाली नागरिक र ५२३ जना विदेशी नागरिक रहेको विवरण सार्वजनिक गरिएको छ। नेपाली नागरिकतर्फ १ हजार ५९१ पुरुष र २६४ महिला तथा विदेशी नागरिकतर्फ २२३ पुरुष र ३०० महिला रहेको प्रहरीले जनाएको छ।

भोटेकोशीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि नदी किनारका बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।

खोज तथा उद्धार अझै जारी

बेपत्ताको संख्या ठूलो रहेकाले सुरक्षा निकाय तथा सम्बन्धित उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्। कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक तथा सञ्चार सम्पर्कमा आएको अवरोधका कारण बेपत्ताको खोजी र पहिचानमा थप चुनौती देखिएको छ।

प्रहरीले फेला परेका शव तथा मानव अंगको पहिचान गर्ने कामसमेत अघि बढाइरहेको जनाएको छ। प्रभावित परिवारले आफन्तको अवस्थाबारे जानकारी पर्खिरहेका छन् भने सरकारले उद्धार, राहत, शव व्यवस्थापन र बेपत्ता व्यक्तिको खोजीलाई प्राथमिकतामा राखेको छ।

६६९ जनाको मृत्यु र २ हजार ३६२ जना बेपत्ता भएको पछिल्लो विवरणसँगै रसुवा बाढी नेपालको पछिल्लो समयकै गम्भीर प्राकृतिक विपद्मध्ये एक बनेको छ। खोज तथा उद्धारसँगै बेपत्ताको यकिन विवरण संकलन र पहिचानको काम अझै जारी छ।