काठमाडौं / बाढीपछि लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा महत्त्वपूर्ण प्रगति भएको छ।

सुरुङको माथिल्लो भाग ९क्राउन० पहिचान भएसँगै उद्धार टोलीले क्यामेरा र अक्सिजन भित्र पठाउने प्रक्रिया सुरु गरेको छ।बिहानदेखि नै प्राविधिक र सुरक्षाकर्मीको संयुक्त टोलीले सुरुङमा थुप्रिएको लेदो हटाउँदै ड्रिलिङमार्फत पहुँच बनाउने प्रयास गरिरहेको थियो। केहीबेरअघि सुरुङको क्राउन पहिचान भएपछि उद्धार अभियानले थप गति लिएको हो।

उद्धार टोलीले सुरुङभित्रको वास्तविक अवस्था बुझ्न क्यामेरा पठाएको छ भने सम्भावित रूपमा भित्र रहेका व्यक्तिसम्म अक्सिजन पुर्‍याउने प्रयास पनि जारी राखिएको छ। साथै, बनाइएको प्वालमार्फत आवश्यक उपकरण पठाउने र लेदो हटाउँदै सुरक्षित उद्धार मार्ग तयार गर्ने काम भइरहेको छ।

प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बाबजुद प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले निरन्तर उद्धार अभियान अघि बढाइरहेको छ।