बिर्तामोड / माओवादी आन्दोलनका क्रममा १६ वर्षअघि ४२ जनाको ज्यान जाने गरी चितवनको माडी नगरपालीकाको बाँदरमुढेमा भएको विभत्स घटनाका पीडितले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ४२ जनाको मृत्यु भएको थियो भने ७५ जना घाइते भएका थिए ।
माओवादी आन्दोलनका क्रममा भएको त्यो विभत्स हिंसात्मक घटनामा परी घटनास्थलमा नै ३९ जनाको ज्यान गएको थियो भने उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । विसं २०६२ जेठ २३ गते माडीको बगईबाट भरतपुरका लागि आउँदै गरेको यात्रुवाहक बसलाई लक्षित गरी बाँदरमुढे खोला नजिकै एम्बुस थापेर माओवादीले विस्फोट गराउँदा त्यो आततायी घटना भएको थियो ।
मानवअधिकारको गम्भिर उलंघन भएको भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चा पाएको सो घटनाका पीडितले भने अझै सम्म न्याय पाउन सकेका छैनन् । माओवादी आन्दोलन देखि निरन्तर पार्टी अध्यक्ष रहेका प्रचण्ड विघटित प्रतिनिधी सभाको सदस्यमा सोही क्षेत्रबाट निर्वाचित समेत भएका थिए । निर्वाचनका समयमा पीडित सामु अनेकौं बाचा गरेका उनले तिन वर्ष सम्ममा पनि उनले पीडितको चित्त बुझाउन सकेका छैनन् ।
लामो समय बितिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको पीडितहरुको गुनासो छ । माडी नगरपालिका–९ गणेशगुञ्जकी विष्णुमाया विक १४ महिने छोरी सुस्मितासहित सोही दुर्घटनामा परेकी थिइन् । दुर्घटनामा परी उनको दाहिने खुट्टा भाँचिएको र टाउकोमा चोट लागेको थियो । सानी छोरीको खुट्टामा चोट लागेको थियो । आफूले अहिलेसम्म पनि न्याय पाउन नसकेको उनको दुःखेसो छ ।
बाल्यकालमै घटनामा परेकी सुस्मिता कृष्णनगर स्कुलमा १० कक्षामा पढ्छिन् । दिनहुँ ढाड, टाउको दुख्ने समस्याबाट ग्रसित भएको उनको गुनासो छ । बाँदरमुढे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी विकसँगै धेरैको पीडा उस्तै रहेको बताउँछन् । सो घटनाकै कारण ६ जना मानसिक रोगी भएको र अङ्गभङ्ग भएका सात जनाले अहिले पनि औषधि खानुपरेको अधिकारीको भनाइ छ । यतिका वर्ष हुँदा पनि राज्यले नहेरेको भन्दै उनले गुनासो गरे ।
माओवादीका अध्यक्ष प्रचण्डले विभिन्न आश्वासन दिएको भए पनि पूरा हुन नसकेको उनको भनाइ छ । सत्यसहित न्याय र परिपूरणको व्यवस्था हुनु पर्ने, दोषी दोषअनुसारको भागीदार हुनुपर्ने जस्ता माग पीडितको छ । सोही घटनामा घाइते अधिकारीले चार वर्ष वैशाखीको सहारामा जीवन बिताएका थिए । दुवै खुट्टा र ढाड भाँचिएको थियो ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले पीडितका परिवारका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढाइएको, पीडित परिवारलाई माडीमा हुने उपचारमा निःशुल्क गरिएको, एक परिवारलाई रु एक लाखका दरले दिने निर्णय अनुसार ३५ परिवारलाई राहत वितरण गरिएको र बाँकी २५ परिवारलाई यसै आर्थिक वर्षमा वितरण गरिने बताए । नगरपालिकामा ६४ परिवारले पीडित भएको भन्दै नाम दर्ता गराएका छन् ।
वाग्मती प्रदेश सरकारको सहयोगमा बाँदरमुढे घटनास्थलमा पार्क निर्माणको काम अघि बढेको छ । उनका अनुसार यस वर्ष रु ४० लाखको लागतमा कम्पाउण्ड गरिँदै छ । सो पार्कमा मृतकका अर्धकदका शालिक, बालउद्यान, बगैँचालगायतका संरचना बन्ने छन् । दुई बिघा आठ कठ्ठा जमीनमा रु आठ करोड खर्च गरेर पार्क निर्माण गर्ने योजना रहेको बताइन्छ ।
बाँदरमुढे घटनाको सम्झनामा आज बिहान स्मृति दिवस मनाइएको छ । पीडित परिवारले घटनास्थलको स्मारकमा दीपप्रज्वलन गरेर मृतकको सम्झना गरेका हुन् ।






































