विराटनगर / सवारी दुर्घटना पछि फरार रहेका प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रोबिन भनिने रविन कार्की पक्राउ परेका छन् ।

कार्कीलाई आइतबार अपरान्ह विराटनगरको बरगाछीस्थित घरबाटै पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी गराएका छन् । उनलाई जोगाउन भएका कोशिस विवादित बनेपछि सांसद कार्कीले प्रहरीलाई घरमा नै बोलाएर आफ्नो छोरा प्रहरीको जिम्मा लगाएको स्रोतले जानकारी गराएको छ ।

पक्राउ परेका कार्कीलाई प्रहरीले आजै जिल्ला अदालत लगेर थप अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरेको छ । प्रहरीले पटक पटक सवारी दुर्घटनामा जोडिदै आएका उनीमाथि सवारी ज्यान मुद्दामा कार्वाही गर्ने तयारी गरेको छ ।

गत बिहीबार राती साढे सात बजे  कार्कीले मदिरा सेवन गरि चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिदाँ ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका – २ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् ।

मृतक र घाइते विराटनगर –४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् । काम सकेर फर्किने क्रममा उनीहरु दुवै दुर्घटनामा परेका थिए ।