पोखरा / कास्कीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ परेका कांग्रेस निकट चर्चित ‘डन’ गणेश लामालाई दुई हजार जरिवाना गराइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले उनीहरूमाथि कारवाही गरेको हो ।
प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामासहित तीनजनालाई हिजो पक्राउ गरेको थियो । त्यसपछि आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो । जिल्ला प्रहरी कार्यालयले तीनैजनाको बयानपछि जरिवाना तिराएर छाडिएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निषेधाज्ञा तोडेको विषयमा ऐनबमोजिम सामान्य जरिवाना तिराएर छाडिएको जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले लामामाथि निषेधाज्ञा तोडेको बाहेक अरु आरोप नभएको बताएका छन् ।
राजनीतिक कारणले उनलाई पक्राउ गरिएको कांग्रेसको आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो केही होइन, हामीलाई राजनीतिसँग के मतलब ?’






































