म्याग्दी / म्याग्दीको मालिका गाउँपालिका –६ रातोढुङ्गामा बाढीले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

बुधबार बिहान मङ्गला गाउँपालिका –५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन गरेर कटान गर्दा खगेन्द्र रोकाको घर बगाएको हो । 

घरभित्र सुतिरहेका खगेन्द्रका छोरा बजिन र बुहारी बिनालाई बाढीले बगाएको मालिकाका वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए । बजिनको शव भेटिएको र बिना बेपत्ता भएको वडाध्यक्ष सुवेदीले बताए । 

खहरेखोलाको बाढी पसेर मङ्गला गाउँपालिकातर्फ पनि एउटा घरमा क्षति पुगेको छ । रातोढुङ्गाको बस्ती, निर्माणाधीन ३२/११ केभी क्षमताको सबस्टेशन र सयौँ रोपनी खेतीयोग्य जमिन जोखिममा परेको छ ।