पर्सा //
झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ जनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ ।
भारत घर भइ हाल पर्साको बहुदरमाइ नगरपालिका २ बस्ने २८ वर्षीया सीता पटेल र बहुदरमाइ नगरपालिका २ कै ५१ वर्षीय धुरुपप्रसाद पटेललाइ नक्कली बावु -छोरी बनी नागरिकता दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
भारतीय नागरिक सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा झुठो विवरण पेश गरी कविता कुमारी पटेलको नामबाट २०७० साल पुष ११ गते नेपाली नागरिकताको प्रमाण पत्र लिएकी थिइन् ।
नागरिकता बनाउने बेला धुरुप पटेलले सीतालाई आफ्नो छोरी कविता पटेल भनेर सनाखत गरेका थिए ।
भारतीय नागरिक सीताले झुठो विवरण पेश गरि नागरिकता लिएको भनेर उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले सीतालाइ वीरगन्ज १३ श्रीपुरबाट बुधबार बिहान नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएर सिताको ब्याग खानतलाशी गर्दा जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७० पुष ११ गते जारी भएको नागरिकता प्राप्त नंबर ३४–०१–७०–१०३५२ को नागरिकता बरामद भएको छ। उक्त नागरिकतामा धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण उल्लेख छ ।
प्रहरीले सीताबाट बरामद भएको नागरिकताबारे अुसन्धान गर्दा झुठो विवरण पेश गरेको पुष्टि भएपछि नागरिकता बनाउन नक्कली बुबा भनेर सनखात गरेका धुरुपलाइ पनि बुधबार नै नियन्त्रणमा लिइएको र दुवैजनालाई नागरिकता सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।






































