काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयासहरू गरिरहेको बताए । मङ्गलबारबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोपको शुभारम्भ गर्दै उनले यस्तो बताए ।
प्रधानमन्त्री ओलीले नेपाली नागरिकहरू बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको जानकारी गराए । उनले निरोगी नेपालका लागि व्यापक प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
आफूले खाने खाना पेट भर्नका लागि मात्रै नभई स्वस्थ रहनका लागि खानुपर्ने बताउनुहुँदै उहाँले स्वस्थ, सन्तुलित खानाले मात्रै आफूलाई निरोगी बनाउने बताए। प्रधानमन्त्री ओलीले भने "हामीले निरोगी नेपालको नारा लिएका छौँ । यसका दुई वटा पक्ष छन् । मानिस बिरामी नै हुन नपरोस्, स्वस्थ रहोस् । त्यसका लागि हामीले व्यापक प्रयासहरू, बहुआयामिकपक्षबाट व्यापक प्रयास गर्छाैं । मान्छे रोगी नहोस्, बिमारी नहोस् । निरोगी नेपालको कन्सेप्ट यसमा आधारित छ । यसको अर्थ, हामीले उत्पादन गर्ने अन्नबालीमा छ । खानेकुराहरू जो उत्पादन गर्छौं त्यसको स्वस्थतामा छ ।’
प्रधानमन्त्री ओलीले सन् २०३० सम्म पाठेघरको क्यान्सरविरुद्धको अभियानलाई पूर्ण रूपमा सफल बनाउने प्रतिबद्धता जनाए ।