सिरहा । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेला भर्न गएका सिरहाकी दुई वृद्धा पाँच दिनदेखि सम्पर्कविहीन भएको परिवारले बताएका छन् ।

जिल्लाको सुखीपुर नगरपालिका–५ की ७५ वर्षीया पलास यादव मेला भरेर आफन्तसँग घर फर्किने क्रममा गत बिहीबार राति भारतको उत्तर प्रदेशको फेफना रेल्वे स्टेसनदेखि बलिया रेल्वे स्टेसनको बीचमा सम्पर्कविहीन बनेको छोरा रामरिझन यादवले बताए । उनले भने, ‘पाँच दिनदेखि निरन्तर खोजी गरे पनि आमालाई फेला पार्न सकिएको छैन ।’ भारतको स्थानीय प्रहरीमा खोजी कार्यका लागि निवेदन दिए पनि त्यहाँबाट अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको उनको भनाइ छ । 

त्यस्तै, औरही गाउँपालिका–३ की ५५ वर्षीया सुलेना यादव पनि महाकुम्भ मेलाबाटै बिहीबारदेखि हराएको उनको आफन्त परिवारले जनाएका छन् । आफन्त बद्रीनारायण यादवले चार दिनदेखि निरन्तर खोजी गरेपनि फेला नपरेको भन्दै सरकारसँग खेजीकार्यमा पहल गरिदिन आग्रह गरे । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले सम्पर्कविहीन भएका परिवारको तर्फबाट खोजीकार्यका लागि हालसम्म कुनै निवेदन नपरेको भन्दै यदी कोही व्यक्ति सम्पर्कविहीन भएका छन् भने पहिचानको लागि फोटोसहित प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरे । उनले भने, ‘भारतीय प्रहरीसँगको समन्वयमा केही दिनअगाडि पनि हामीले मेला भर्न गएका एकजना सम्पर्कविहीन व्यक्तिको खोजी गरेका थियौँ । जिल्लामा अरु कोही त्यस्तो सम्पर्कविहीन व्यक्ति हुनुहुन्छ भने परिवारका कसैले खोजीकार्यका लागि प्रहरीमा सम्पर्क गरिदिनुहोला ।’