विराटनगर— झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ बर्षीय उत्तम कार्की, २५ बर्षीया निर्मला थापा, २९ बर्षीय बसन्त तामाङ, २० बर्षीय दिवश तामाङ, २५ बर्षीय धिरज राई, २४ बर्षीय संजय राई, १९ बर्षीय मौसम राई, २० बर्षीय रेन्जि शेर्पा, २० बर्षीय संगित राई, २० बर्षीय युकेश राई, १९ बर्षीय उचित राई र २९ बर्षीय दिपेश राई रहेका छन् ।
झापाको बुद्धशान्ती गाउँपालिका–३ बुधबारे बजार स्थितबाट स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले रुपन्देहीको बुटवल नगरपालिका–३ की २५ बर्षीया निर्मला थापालाई ५ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर महानगरपालिका–१५ र १६ स्थितबाट धरान उप-महानगरपालिका–१२ का २९ बर्षीय बसन्त तामाङलाई ब्राउन सुगर २ ग्राम ८८ मिलिग्राम र मोरङको सुन्दरहरैचा नगरपालिका–३ का २० बर्षीय दिवश तामाङलाई १ ग्राम ७१ मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीको बराहक्षेत्र नगरपालिका–७ सोमबारे स्थितबाट सोही स्थानका २५ बर्षीय धिरज राईलाई २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका–७ स्थित संजय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर, गाँजा १८ ग्राम र नगद ७० हजार रुपैया फेलापारी कारोबारमा संलग्न भोजपुर नगरपालिका–७ का मौसम राई, भोजपुर–९ का रेन्जि शेर्पा, भोजपुर–५ का संगित राई , भोजपुर–७ का युकेश राई, उचित राई, भोजपुर–६ का दिपेश राई समेतलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबै जनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।