काठमाडौं— स्वास्थ्य बिमा बोर्डले बिमामार्फतको सेवा दिन सूचीकृत देशभरका ४०० वटा स्वास्थ्य संस्थालाई ४ अर्ब ३८ करोड रुपैयाँ पेश्की उपलव्ध गराएको छ। गत साउनदेखि चैतसम्म माग दावी पेश गरेका ती अस्पताललाई कुल दावी रकमको २५ देखि ८० प्रतिशतसम्म पेश्की उपलब्ध गराएको हो।

चालू आर्थिक वर्षको तेस्रो चौमासिकसम्म सेवाप्रदायक स्वास्थ्य संस्थालाई दावी भुक्तानी गर्न नसकेपछि स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बिमाअन्तर्गतका सेवा नै रोक्न थालेपछि बोर्डले हाल आएर पेश्की स्वरूप रकम दिन लागेको बिमा बोर्डले जनाएको हो। 

बिमाकै १५ अर्ब तिर्न नसक्दा अस्तव्यस्त बन्दै गएको थियो । स्वास्थ्य बिमा बोर्डले पूरै भुक्तानी गर्न नसकेपछि ४ अर्बभन्दा बढी रकम पेश्की स्वरूप उपलब्ध गराएको छ।

चालू आर्थिक वर्षमा स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट पाएको थियो भने गत फागुन महिनामा अर्थ मन्त्रालयले थप ३ अर्ब रकम निकासा गरेको थियो। जसअनुसार  बोर्डमै रहेको अरू १ अर्ब ३८ करोड रुपैयाँसमेत जोडेर कुल ४ अर्ब ३८ करोड रकम पेश्की स्वरूप सेवाप्रदायक स्वास्थ्य संस्थालाई दिएको हो।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेको स्वास्थ्य बिमा बोर्ड पछिल्ला वर्षमा सेवाप्रदायक स्वास्थ्य संस्थाहरूलाई दिनुपर्ने दावी भुक्तानी समयमै उपलब्ध गराउन सकिरहेको छैन।

बोर्डले अहिले बिमामार्फतको सेवा दिएका सेवाप्रदायक स्वास्थ्य संस्थालाई मात्रै १५ अर्ब रकम दिन बाँकी छ। बोर्डको यो दिनुपर्ने रकम चालू आर्थिक वर्षमा बोर्डले पाएको कुल बजेटभन्दा झन्डै दोब्बर रकम हो।

बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेका अनुसार अहिले पेश्की भने ठूलादेखि साना सबैखाले स्वास्थ्य संस्थालाई मागदावीको ८० प्रतिशतसम्म पेश्की उपलब्ध गएको हो।  ठूलो माग दावी भएको संस्थालाई २५ प्रतिशतसम्म रकम बोर्डले उपलब्ध गराएको छ। 

‘सेवाप्रदायक सबै स्वास्थ्य संस्थाहरूलाई मागदावी अनुसार केही रकक उपलब्ध गराएका छौँ, बाँकी पनि छिट्टै उपलब्ध गराउँछौँ’‚ कार्यकारी निर्देशक डा. काफ्लेले भने।

बोर्डका अनुसार गत साउनदेखि चैतसम्म दावी गर्ने साना स्वास्थ्य संस्थाहरूलाई ८० प्रतिशत रकम पेश्की स्वरूप दिएको छ। यसरी १२ लाखसम्म रकम पाउने साना स्वास्थ्य ७८ वटा रहेका छन्। यो संस्थाहरूले​ ३ करोड ३१ लाख रुपैयाँ माग दावी गरेका थिए‚ २ करोड २७ हजार रकम ७८ वटा स्वास्थ्य संस्थाले पाएका छन्।

यस्तै ५१ लाखभन्दा बढी माग दावी गर्ने संस्थालाई दावी रकमको २५ प्रतिशत पेश्की उपलब्ध बोर्डले गराएको छ। जसमा २५८ वटा संस्थाको मागदावी १७ अर्बको रहेको थियो तर बोर्डले यी स्वास्थ्य संस्थालाई रकम माग दावी अनुसार २५ प्रतिशत पेश्की रकम दिएको छ। यसअनुसार यी स्वास्थ्य संस्थामा ४ अर्ब २८ करोड रुपैयाँ वितरण गरिएको छ।