सुनसरी — कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लाका विभिन्न सिमा नाकाहरुमा तस्करीको गतिविधि दिन प्रतिदिन बढ्दो क्रममा छ। गुप्त अनुसन्धान अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सेटिङमा भारतबाट भित्रिने विभिन्न सामानमा दर रेट तोकेर पैसा असुली गर्दै तस्करहरूलाई सहज रुपमा भन्सार नाका पार गराउने कार्य भइरहेको छ।

जिटिभीले गरेको गुप्त स्ट्रिङ अपरेसनमा घुस्की, कप्तानगञ्ज र हरिपुरजस्ता नाकाबाट दैनिक करोडौंको तस्करी भइरहेको प्रमाण फेला परेको छ। फिल्मी शैलीमा सशस्त्र प्रहरीको आँखै अगाडि खुलेआम तस्करी हुँदा समेत प्रशासन मौन रहेको देखिनुले आम नागरिकमा गहिरो शंका उत्पन्न गराएको छ।

जिटिभीको रिपोर्ट अनुसार सशस्त्र प्रहरीको मिलोमतोमा साधारण खैनी व्यापारीदेखि ठूला कपडा व्यवसायीसम्मले भन्सार पार गर्न ठूलो रकम तिर्नुपर्ने बाध्यता रहेको छ। प्राप्त विवरण अनुसार रु. १,००० देखि १ लाखसम्मको असुली गरिने गरेको खुलेको छ। सशस्त्र प्रहरी बलले नै तस्करहरूसँग रेट तोकेको प्रमाणहरू फेला परेका छन्।

हरिपुर क्षेत्रमा सशस्त्र प्रहरीका डिएसपी केदारजंग थापा कार्यरत भएसँगै अत्यधिक मात्रामा लागुऔषध (गाँजा), स्याउ, र कपडा ओसारपसार भइरहेको रिपोर्टमा उल्लेख छ। नेपाल प्रहरीले लागुऔषध नियन्त्रणका लागि कार्यरत रहे पनि सशस्त्र प्रहरी मौन बसिरहेको तथ्यले प्रहरी प्रशासनप्रति प्रश्न उठाएको छ।

घुस्की, कप्तानगञ्ज, भुटाहा, लौकही, वसन्तपुर, अमडुवा, उल्टी, सायबगञ्ज लगायत नाकाहरु तस्करीका मुख्य केन्द्रबिन्दु बनेका छन्। यी नाकाबाट भन्सार छली, लागुऔषध ओसारपसारलगायतका कार्यहरू व्यापक रूपमा भइरहेको छ। सुरक्षाकर्मी र तस्करबीचको मिलोमतोले अवस्था भयावह बन्दै गएको छ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान तथा राजस्व अनुसन्धान कार्यालयजस्ता निकाय जिल्लामै रहेका भए पनि तस्करी खुलेआम भइरहँदा यिनको मौनता आफैंमा प्रश्न बनेको छ। आखिर किन यी निकायहरू निरीह बनेका छन्?

यदि सुरक्षामा खटिएका निकायहरू जिम्मेवार बन्न सकेनन् भने शान्ति सुरक्षा र सुशासनको कल्पना गर्नु असम्भव छ। तस्कर, माफिया र लागुऔषध नियन्त्रणको नाममा हुने असुलीबाजी रोकेर, नियमित गस्ती र कडा अनुगमन सुनिश्चित गरिएमा मात्रै सुधार सम्भव छ। नत्र, तस्करी मौलाउँदै जाँदा प्रशासन माथिनै गम्भीर प्रश्न उठ्नेछ।

हेर्नुहोस भिडियोमा तस्करी कसरी हुन्छ सुनसरिमा ?

https://www.youtube.com/watch?v=cVN-SdRw5oU&t=20s