सुनसरी— सुनसरीको इटहरीका राप्रपा नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राप्रपाका नेता सुब्बालगायत तीन जनाविरुद्ध एक महिलाले गैरकानुनी शरीर तलासी तथा बेइज्जती मुद्दा दायर गरेकी हुन् ।
सुब्बा २०७२ मा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारका भूमिसुधार मन्त्री बनेका थिए । सुब्बालगायत सोही ठाउँ इटहरी उपमहानगर ९ बस्ने गोपाल शाह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो । शाह पीडित महिलाका ससुरा हुन् । आफूलाई पूर्वमन्त्री सुब्बालगायतले जबरजस्ती गैरकानुनी शरीर तलासी तथा बेइज्जती गरेको आरोप उनको छ ।
वास्तविक घटना यस्तो रहेछः
श्रीमानसहित परिवारका सदस्यहरूले हेलाहोचो गरी घरबाट निकाला गरेको भन्दै पीडित महिलाले यसअघि अंश मुद्दा दायर गरेकी थिइन् । श्रीमान र ससुराको बारम्बारको यातनाको कारण मुद्दा दायर गरेर मोरङको डायनियाँस्थित माइतीमा बस्दै आएकी महिलाले दायर गरेको मुद्दामा उनको परिवारले म्यादसमेत नबुझेको र गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र ससुरा गोपालसाहमेत माइतीमै आएर दुर्व्यवहार गरेको पीडितको भनाइ छ ।
सुब्बाले आफूलाई ‘तिमी महिला नरहेको, महिलाको गुण नरहेको, महिलाको स्वरूप नरहेकोले घरजम नभएकोले हेर्न आएको’ भन्दै धाकधम्की दिएको उनको जाहेरीमा उल्लेख छ । ‘प्रतिवादी रामकुमार सुब्बाले तिम्रो लिङ्ग हेर्नको लागि हामीले आफ्नै महिला ९सुनिता घिमिरे० कर्मचारी ल्याएका छौं । तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ भन्दै दबाब दिए’ जाहेरीमा पीडितले भनेकी छन्, ‘मैले इन्कार गरे। मेरो परिवारले पनि उक्त कुराको ईन्कारी गर्नुभयो । तर, प्रतिबादी रामकुमार सुब्बाले आफू पूर्वमन्त्री रहेको तथा प्रहरी प्रशासन सबैमा प्रभाव रहेकोले सार्वजनिक रूपमा नांगेझार पार्छौ भन्दै ममाथि र मेरो परिवारमाथि मानसिक र शारीरिक रूपमा दवाव सिर्सना गर्दै जान थाल्नुभयो ।’
सुब्बासहितले आफ्नो अङ्गहरू हेर्न र महिला, पुरुष वा अन्य तेस्रो लिङ्गी भन्दै सँगै आएकी सुनिता घिमिरेलाई आदेश दिएको पीडितको भनाइ छ । उनीहरुको निर्देशनपछि घिमिरेले आफ्नो देब्रे पाखुरामा समातेर जबरजस्ती घरको भान्साको छेउमा लगेर सबै कपडा खोली गोप्य अङ्गहरू हेरेको उनले बताएका छन् । त्यसपछि हिँजडा हैन रहेछ भन्दै प्रतिवादीहरू फर्किएका थिए ।