सिरहा— महिलासँग रंगेहात पक्राउ परेका मालपोत कार्यालयका एक कर्मचारीको कोठाबाट सरकारी कागजातको ठेली बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारीअनुसार मालपोत कार्यालय सिरहा–मिर्चैयाका कर्मचारी संजय रायको डेरामा छापा मार्दा मालपोतसम्बन्धी कैयौं कागजात फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानले राय बस्दै आएको कोठामा खानतलासी गरिएको पुष्टि गर्दै बरामद कागजातमाथि अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।
खानतलासीका क्रममा घटनास्थलमा पुगेका सिरहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष विनोद यादवले रायको कोठाबाट सरकारी कागजातको थुप्रो भेटिएको जानकारी दिए।
उनले भने, “सरकारी कागजात त कार्यालयबाहिर राख्न मिल्दैन। तर, रायको कोठाबाट मालपोत कार्यालयका धेरै महत्वपूर्ण कागजातहरू भेटिएका छन्।”
प्रहरीले पक्राउ परेका रायमाथि थप अनुसन्धान गरिरहेको छ भने कागजात कहाँबाट कसरी कोठामा आइपुगे भन्ने विषयमा समेत छानबिन जारी रहेको प्रहरीको भनाइ छ ।