विराटनगर— मोरङ जिल्लामा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा नेपाल प्रहरीका एक सहायक हवल्दारसहित दुईजनाको मृत्यु भएको छ भने बालकसहित ६ जना घाइते भएका छन्।

पहिलो घटना कानेपोखरी गाउँपालिका–७ स्थित डाँस खोला पुलको डाइभर्सनमा शनिबार राति करिब ८ बजे भएको हो। पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकल डाइभर्सनमा अनियन्त्रित भई दुर्घटनामा परेको थियो। दुर्घटनामा इलामको प्रहरी चौकी जमुनामा कार्यरत ३१ वर्षीय सहायक हवल्दार जितेन्द्र चौधरीको उपचारका क्रममा मृत्यु भएको हो।

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचार हुँदै गर्दा चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।

मोटरसाइकलमा चौधरीसँगै उनकी श्रीमती, २६ वर्षीया प्रहरी जवान विमला धिमाल चौधरी र २ वर्षीय छोरा जेशन चौधरी पनि सवार थिए। दुवै गम्भीर घाइते भएका छन् र हाल विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत छन्। विमलाको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

त्यसैगरी, दोस्रो दुर्घटना आइतबार बिहान रंगेली नगरपालिका–७, संसारीमाई मन्दिर नजिकै हुलाकी राजमार्गमा भएको हो। विराटनगरबाट आमबारीतर्फ ब्रोइलर कुखुराको दाना लिएर गइरहेको को २ च १३०० नम्बरको पिकअप डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा चालक ४५ वर्षीय चेतराज खनालको घटनास्थलमै मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए।

पिकअपमा सवार २३ वर्षीय राम राजवंशी, २१ वर्षीय छत्र पराजुली र ३२ वर्षीय दिपेश पौडेल सामान्य घाइते भएका छन्। दुर्घटनाको कारण अत्यधिक तीव्र गतिको गाडी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान गरिरहेको छ।