पाँचथर पाँचथरको फिदिम–ताप्लेजुङ सडक खण्डअन्तर्गत हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ। मन्त्री देवेन्द्र दाहालको मन्त्रीस्तरीय निर्णयअनुसार गठित समितिको संयोजकता सडक विभागका उपमहानिर्देशक ललिजन खनालले गरेका छन्।

समितिलाई घटनाको कारण पत्ता लगाउने, भविष्यमा यस्ता घटना नदोहोरिन सल्लाह दिने र अस्थायी रूपमा यातायात सञ्चालनको व्यवस्था गर्न ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। समितिले आइतबारदेखि काम सुरु गरिसकेको छ।

मन्त्री दाहालले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने निर्देशन दिएका छन्।