हुम्ला— जिल्लाको सर्केगाड गाउँपालिका—३, उनापानीको औल बस्तीमा गएराति भीषण आगलागी हुँदा ८ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगो विर्ख रावतको गोठबाट सुरु भई आज बिहानसम्म नियन्त्रणमा आउन सकेको थिएन।

पीडित धनबहादुर रावतका अनुसार आगलागीबाट अन्न, लत्ताकपडा, भाँडा, कागजातदेखि नगदसम्म सबै जलेको छ। जलेका घरहरू विजन, धनबहादुर, जनक, विर्ख, पाले, लालकौरा, दुधशिला, र बाटुल्ली फडेराको हुन्।

प्रहरी निरीक्षक सुविन शाहको टोली राति नै घटनास्थल पुगेको हो । अहिले पूर्ण रूपमा आगो नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । आगलागीबाट मानवीय क्षति भने नभएको पुष्टि गरिएको छ। क्षतिको यथार्थ विवरण बारे बुझिरहेको प्रहरीले जनाएको छ।