सप्तरी— जिल्लामा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

शम्भुनाथ नगरपालिका– २ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने गोविन्द चौकमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक रुपनी गाउँपालिका–१ घर भएका २० वर्षीय मो. आजादको मृत्यु भएको हो ।

गएराति पूर्वबाट पश्चिमतर्फ गइरहेको स १ त ४९७२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्र २–००१–प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका आजादलाई प्रहरीले उद्धार गरी उपचारका लागि युनिक अस्पताल रायपुरमा ल्याई थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएकोमा उपचारकै क्रममा आजाद मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको  प्रहरीले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार १८ वर्षीय मो. समिर मियाँ गम्भीर घाइते भएका छन । उनलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीका भनाइ छ ।

दुर्घटनाग्रस्त मोटरसाइकल, ट्याक्टर र ट्याक्टरका चालक सप्तरीको शम्भुनाथ नगरपालिका–१ बस्ने २७ वर्षीय कैलाश कुमार यादवलाई नियन्त्रणमा लिई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।