विराटनगर— सुनसरी र धनकुटा जिल्लाबाट लागू औषधसहित पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय भाण्टाबारी, लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
सुनसरीको कोशी गाउँपालिका–८ र १ बाट चेकजाँचको क्रममा ३ ग्राम ७०५ मिलिग्राम ब्राउन सुगरसहित सप्तरी महादेवा नगरपालिका निवासी २२ वर्षीय मुकेश कुमार मण्डल, २८ वर्षीय सन्तोष कुमार मण्डल, र धनकुटा पाख्रिबास नगरपालिका–९ का २७ वर्षीय रोशन तिम्सिनालाई प्रदेश १–०२–०५६ प ८०७४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ बाट धनकुटा छथर जोरपाटी गाउँपालिका–१ का २९ वर्षीय दिलीप गजमेर (विश्वकर्मा) लाई २३ ग्राम ३६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले सहिदभूमि गाउँपालिका–२ का १९ वर्षीय सबिन राईलाई २ किलोग्राम गाँजासहित पक्राउ गरेको छ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।