काठमाडौं— मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा फरार रहेका ज्योतिबहादुर भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।

प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले ४२ वर्षीय भण्डारीलाई पक्राउ गरी बुधबार राति काठमाडौं ल्याएको हो। उनलाई अब ठगीसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

सिआइबीका अनुसार भण्डारीले मितेरी सहकारीका तत्कालीन महाप्रबन्धक ज्योति गुरुङमार्फत सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूलाई झुक्याएर रु १४ करोडभन्दा बढी रकम विदेश लगिएको अनुसन्धानबाट खुलेको छ।

गुरुङले अपचलन गरेको रकम थाइल्याण्डमा बस्दै आएका भण्डारीमार्फत परिचालन भएको पाइएको छ। भण्डारीले आफू रकम फिर्ता गराइदिने भन्दै सहकारीका पदाधिकारीहरूसँग सम्पर्क गरेको समेत खुलेको छ।

पक्राउ परेका भण्डारीले कास्की र बर्दियाबाट बेग्लाबेग्लै नाममा दुई वटा नेपाली नागरिकता लिएको, त्यसै आधारमा दुई वटा राहदानी बनाएको र विभिन्न व्यक्तिहरूको विवरण परिवर्तन गरी कीर्ते नागरिकता र राहदानी प्रयोग गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत गत कात्तिक १३ गते रेड नोटिस जारी गरिएको थियो।

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ भने ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि तीव्र पारिएको जनाएको छ।