कञ्चनपुर— भारतको उत्तराखण्ड राज्यको उद्यमसिंह नगरबाट बन्धक बनाइएका ३५ नेपाली युवाहरुलाई उद्धार गरिएको छ। आकर्षक रोजगारीको प्रलोभनमा पारेर डोटी, दाङ, ताप्लेजुङ, स्याङ्जा, उदयपुर, पाँचथर, पोखरालगायत जिल्लाका १६ देखि ४१ वर्ष उमेर समूहका युवाहरूलाई बन्दी बनाइएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई विभिन्न शीर्षकमा रकम असुल गरिएको र यातना दिएको खुलेको छ। नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते उनीहरूको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।
उक्त घटनामा संलग्न कैलालीको धनगढीका वीरेन्द्र शाही ठकुरी र भारतका दुई जनासहित तीन लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भारतको उत्तराखण्डका अरू स्थानमा बन्दी बनाइएका थप नेपालीको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ।