झापा— झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा बसपार्क क्षेत्रबाट अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल, सिलिगुढीका ३५ वर्षीय जय प्रकाश कुमार पाठक रहेका छन्।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन लामाको कमाण्डमा उक्त पक्राउ गरेको हो। टोलीले चेकजाँचका क्रममा शंकास्पद रूपमा भेटिएको एक गाडी नियन्त्रणमा लिएको थियो।

जाँचका क्रममा गाडीको सिटमुनी लुकाएर राखिएको एक थान कालो रंगको म्यागजिनसहितको एयर पेस्तोल, पाँच राउन्ड एयर बुलेट र दुई थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेका पाठकविरुद्ध थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।

2