दोलखा — दोलखा जिल्लामा पछिल्लो समय नेपाल विद्युत प्राधिकरण दोलखा शाखाद्वारा अघोषित लोडसेडिङ गरिँदै आएको भन्दै सर्वसाधारण, व्यवसायी, अस्पताल, शैक्षिक संस्था, सरकारी कार्यालय तथा अन्य सेवाग्राहीहरू आक्रोशित भएका छन्।
आज प्रकाशित एक विज्ञप्तिमार्फत नागरिकहरूले विद्युत सेवा आपूर्ति अवरुद्ध हुनुका कारण जनजीवन प्रभावित भएको स्पष्ट पारेका छन्। प्राधिकरणको दोलखा शाखालाई सम्बोधन गरिएको सो विज्ञप्तिमा, अघोषित रूपमा लोडसेडिङ गर्दै आएकोमा कडा ध्यानाकर्षण गराइएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, 'बिद्यालयहरूमा स्मार्ट बोर्ड तथा प्रोजेक्टरमार्फत पठनपाठनमा बाधा, व्यवसायीहरूको उत्पादन तथा सेवा प्रवाहमा समस्या, अस्पतालमा उपचार प्रभावित, होटल व्यवसायीहरूको फ्रिजमा राखिएका खाद्यवस्तु नोक्सान, सरकारी कार्यालयबाट सेवा लिने नागरिक हैरान, विद्युतीय सवारीसाधन चार्ज नहुँदा बिरामी पुर्याउन कठिनाई लगायतका समस्या देखिएका छन्।'
दोलखा जिल्लालाई विद्युत उत्पादनको केन्द्र मानिने भएपनि लोडसेडिङको चपेटामा पर्नु विडम्बनापूर्ण रहेको उनीहरूको गुनासो छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, 'केही वर्ष अघिसम्म मौसम वा समयमा असर नपर्ने गरी नियमित रूपमा बत्ती आउने दोलखामा अहिले फेरि लोडसेडिङ सुरु हुनु दुःखद अवस्था हो।'
दोलखाली नागरिकहरूले यथाशिघ्र लोडसेडिङ अन्त्य गर्न माग गर्दै, अन्यथा जनआन्दोलनको रूप लिन सक्ने चेतावनीसमेत दिएका छन्।