काठमाडौं—  काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ४ लोलाङ हाईटस्थित एक डेराबाट खैरो हेरोइन जस्तो देखिने लागुऔषध पदार्थसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी टोलीले सोमबार दिउँसो करिब ५ बजे सो स्थानमा खटि गई डेरामा खानतलासी गर्दा खैरो हेरोइन जस्तो देखिने १०.३६ ग्राम लागुऔषध फेला पारी बरामद गरेको हो। सोही क्रममा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेकामध्ये धादिङ जिल्ला नेत्रावती गाउँपालिका वडा नं. २ घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएकी २९ वर्षीया सरिका तामाङ गुरुङ, काठमाडौं महानगरपालिका वडा नं. १७ घर भएका ३८ वर्षीय सन्दिप शाही, र बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका वडा नं. ९ घर भई हाल शंखमुलमा बस्दै आएका ४८ वर्षीय सन्तोष कुमार साह रहेका छन्।

पक्राउ पर्ने व्यक्तिहरूसँगै प्रहरीले निम्न वस्तुहरू समेत बरामद गरेको छ : खैरो हेरोइन जस्तो देखिने पदार्थ १०.३६ ग्राम, नगद रु. १,७४,०००, प्रदेश ३–०२–०१४ प ६२२७ नम्बरको स्कुटर १ थान, बागमती प्रदेश–०२–०५६ प ७८०० नम्बरको मोटरसाइकल १ थान रहेको जिल्ला प्रहरी परिसरका एपपी अपिल बोहराले जानकारी दिए ।

उनीहरूविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।