काठमाडौं— पशुपति आर्यघाटमा विद्युतीय शवदाह मेसिन खरिद प्रक्रियामा भएको साढे १० करोड रुपैयाँ बराबरको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव मिलनकुमार थापा सहित १४ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार शवदाह मेसिन खरिद प्रक्रियामा अनियमितता, नियमविपरीतको निर्णय तथा ठेक्का प्रक्रियामा भएको हेरफेरका कारण राज्यलाई ठूलो आर्थिक क्षति पुगेको छ।
यस प्रकरणमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पनि अख्तियारले बयान लिएको थियो। तर, उनलाई प्रतिवादीको सूचीमा भने राखिएको छैन। अख्तियारका अनुसार किरातीको भूमिकाको थप अनुसन्धान भए पनि उनीविरुद्ध अहिलेको अवस्थामा पर्याप्त प्रमाण नपुगेको जनाइएको छ।
विद्युतीय शवदाह प्रणाली निर्माण तथा सञ्चालनको नाममा गरिएको ठेक्का, मूल्यांकन तथा खरिद प्रक्रियामा देखिएको भ्रष्टाचारका कारण सार्वजनिक सम्पत्ति दुरुपयोग भएको निष्कर्ष अख्तियारले निकालेको छ।