इलाम— इलाम जिल्लाको रोङ गाउँपालिका–३ मा ट्रकको ठक्करबाट दुई जनाको ज्यान गएको छ। आइतबार अपराह्न ४ बजे प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले बा. ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुई जनाको ज्यान गएको हो।
मोटरसाइकल चालक बझाङ जिल्लाको बित्छडचिर गाउँपालिका–१ निवासी २६ वर्षीय मदन बहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका–८ की २३ वर्षीया सिर्जना गिरी उक्त दुर्घटनामा घाइते भएका थिए। दुवै जनालाई तत्कालै झापाको बिर्तामोडस्थित B&C अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनीहरूलाई मृत घोषित गरेका थिए।
दुर्घटनामा संलग्न ट्रकका चालक पाँचथर कुम्मायक गाउँपालिका–९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।