विराटनगर— पूर्वी नेपालका दुई छुट्टाछुट्टै घटनामा डुबेर र चट्याङ लागेर दुई जनाको ज्यान गएको छ।
मोरङ जिल्लाको धनपालथान गाउँपालिका–७ का ८ वर्षीय ऋषि शर्मा आइतबार पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका छन्। मृतक विजय शर्माका छोरा ऋषि घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका थिए।
त्यसैगरी सोही दिन भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–१ घर भई हाल चापाभोटेमा आफ्नै दाजुको घरमा बस्दै आएकी ६५ वर्षीया पम्फा भण्डारीको चट्याङ लागेर ज्यान गएको छ। उनी कोठामा सुतिरहेको अवस्थामा पानीसहित परेको चट्याङले लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।