विराटनगर — चोरीका तीन फरक घटनामा संलग्न तीन जनालाई प्रहरीले उदयपुर, झापा र मोरङबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–७ का २९ वर्षीय कबिन उर्फ निरोज लामा, झापाको कन्काई नगरपालिका–३ का २६ वर्षीय विनोद बर्देवा, र मोरङको धनपालथान गाउँपालिका–४ का १९ वर्षीय जोसेफ हेमरम रहेका छन्।
२०७८ साल मंसिर ३ गते उदयपुरको चौदण्डीगढी नगरपालिका–३ स्थित पदम राईको घरबाट ४ तोला सुनको गहना चोरी भएको घटनामा संलग्न रहेको आरोपमा निरोज लामालाई प्रहरीले असार ७ गते गाउँघरमै लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारबाट पक्राउ गरेको हो।
यस्तै, २०८२ साल असार ८ गते झापाको कनकाई नगरपालिका–३ मा रबिन विश्वकर्माको घरमा डेरा गरी बस्ने बर्देवाले घरमा कोही नभएको मौका छोपी टिभी, फ्रिज लगायतका घरायसी सामान चोरी गरी फरार भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको छ।
तेस्रो घटनामा मोरङको जहदा गाउँपालिका–४ मा पार्किङ गरी राखिएको प्रदेश १–०२–०४३ प ८५७१ नम्बरको मोटरसाइकल चोरीमा संलग्न जोसेफ हेमरमलाई इलाका प्रहरी कार्यालय पोखरीयाले असार ८ गते पक्राउ गरेको हो।
पक्राउ परेकाहरूबाट चोरी भएका सामानहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ। तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको छ।