विराटनगर— मोरङ र उदयपुरका छुट्टाछुट्टै स्थानहरूबाट प्रतिबन्धित लागू औषधसहित ५ जना पक्राउ परेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित भुटानी शरणार्थी शिविरबाट ४१० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका २४ वर्षीय पुष्पलाल डाँगी र २३ वर्षीय अनिल राईलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका–१५ बाट ९ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित मोरङको सुन्दरहरैचा नगरपालिका–८ का २९ वर्षीय सरोज आचार्यलाई पक्राउ गरेको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले उर्लाबारी नगरपालिका–५ सिसौलीबाट २३ वर्षीय पाल्देन तामाङलाई शंकाको आधारमा जाँच गर्दा ७० मिलिग्राम ब्राउन सुगरसहित फेला पारी नियन्त्रणमा लिएको छ।

उता, उदयपुरको बेलका नगरपालिका–१ मा रहेको प्रहरी बिट आम्बासीको टोलीले रामपुरठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको म्याजिक भ्यान जाँच गर्ने क्रममा बेलका–७ मैनामैनीका ३१ वर्षीय धन बहादुर राईको झोलामा लुकाइएको १२ किलोग्राम लागू औषध गाँजा फेला पारेर उनलाई नियन्त्रणमा लिएको छ।

संबन्धित सबै घटनामा आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन्।