काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतमा आर्थिक अनियमितता गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अस्पतालको बिलिङ काउन्टरबाट उठेको रकम बैङ्कमा दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरिएको पाइएको छ। यस सम्बन्धमा आयोगले लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करार सेवामा कार्यरत तृप्ति शाही ठकुरी (उर्फ तृप्ति शाही) र कुमारी बैङ्कको एक्सटेन्सन काउन्टरका तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ।

तीनै जनाविरुद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत उनीहरूमाथि कानुनी कारबाही अगाडि बढाइएको जनाएको छ। घटनाको थप अनुसन्धान तथा सुनुवाइ विशेष अदालतमार्फत हुने जनाइएको छ।