चितवन— चितवनको राप्ती नगरपालिका–४ मा घरायसी विवादपछि एक दम्पतीले भिरबाट हाम फालेका छन्। हामफाल्ने घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।
मंगलबार (हिजो) ४२ वर्षीया कुमारी प्रजा र उनका श्रीमान् लीलाबहादुर प्रजाबीच घरायसी विवाद भएको बताइएको छ। विवादपछि कुमारीले घरनजिकैको भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार घटनास्थलमै कुमारीको मृत्यु भएको हो।
कुमारीले हाम फालेपछि उनका श्रीमान् लीलाबहादुरले पनि सोही भिरबाट हाम फालेका थिए। उनी गम्भीर घाइते छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ।