विराटनगर— झापा, मोरङ र धनकुटाका विभिन्न स्थानहरूबाट प्रहरीले प्रतिबन्धित लागू औषधसहित ८ जनालाई पक्राउ गरेको छ। असार ९ गते भएका विभिन्न प्रहरी कारबाहीमा ब्राउन सुगर, ट्रामाडोल क्याप्सुल र भोमिन ट्याब्लेट बरामद गरिएको हो।

मोरङको सुनवर्षी नगरपालिका–८ स्थित सिक्टीबाट डाइनिया तर्फ जाँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकललाई चेकजाँच गर्दा त्यसमा सवार १९ वर्षीय अकमल मियालाई ४२ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको छ।

यसैगरी, लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका लम्जुङका २५ वर्षीय रामकुमार गुरुङलाई १३ ग्राम ६५ मिलिग्राम ब्राउन सुगरसहित र धरान–६ निवासी २८ वर्षीय करण तामाङलाई ३ ग्राम ४ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

उर्लाबारी नगरपालिका–१ सुकुम्बासी टोल निवासी २४ वर्षीय भीमबहादुर देवालाई लागू औषध कारोबारको आरोपमा ट्रामाडोल ९० क्याप्सुल र भोमिन ९० ट्याब्लेटसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ।

धनकुटाको चौबीसे गाउँपालिका–७ का ३० वर्षीय भूपेन लिम्बू र सोही गाउँपालिका–६ का २५ वर्षीय हेमबहादुर बिकलाई १ ग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय राजारानीले नियन्त्रणमा लिएको हो।

यसैगरी, झापाको भद्रपुर–९ निवासी २५ वर्षीय अजय राजवंशी र २२ वर्षीय पर्शुराम राजवंशीलाई १ ग्राम २१ मिलिग्राम ब्राउन सुगरसहित वडा प्रहरी कार्यालय भद्रपुरले पक्राउ गरेको छ।


पक्राउ परेकाहरू विरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।