सुनसरी— सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीस्थित झर्ना चोकबाट ठूलो मात्रामा प्रतिबन्धित तथा नियन्त्रित औषधीसहित एक जना पक्राउ परेका छन्।

सोमबार लागू औषधको अवैध कारोबार हुँदै आएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–५ झर्ना चोकस्थित डेरा गरी बस्दै आएका मुन्सन राईको कोठामा खानतलासी गरेको थियो। सो क्रममा झोलामा लुकाएर राखिएको विभिन्न औषधीहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, राईको कोठाबाट ट्रामाडोल ८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास ७ हजार ८ सय ९० ट्याब्लेट, नाइट्राजेपाम २० ट्याब्लेट, स्पारेट २ सय ९५ ट्याब्लेट र कोलिवन ३ सय १२ ट्याब्लेट बरामद गरिएको हो।

पक्राउ परेका राईमाथि लागू औषध सम्बन्धी मुद्दा अन्तरगत इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।