सप्तरी — राजविराजस्थित जिल्ला कारागारबाट फरार भएका थुनुवा रमानन्द मण्डल घटनाको डेढ महिनापछि पक्राउ परेका छन्। चोरी मुद्दामा थुनामा परेका शम्भुनाथ नगरपालिका–११ निवासी ३५ वर्षीय मण्डल वैशाख १५ गते राति कारागारबाट भागेका थिए।


उनी २०७९ पुस ६ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए। लामो समयदेखि फरार रहेका मण्डललाई बुधबार आफ्नै गाउँ क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।


उच्च सुरक्षा सतर्कता र चारैतिर अग्लो पर्खालले घेरिएको कारागारबाट मण्डल कसरी भाग्न सफल भए भन्नेबारे अझै स्पष्ट विवरण प्राप्त भएको छैन। घटनाको सम्बन्धमा प्रहरीको छानबिन जारी रहेको छ।


फरार भएपछि पक्राउ परेका मण्डलमाथि अब कारागार ऐन, २०७९ अनुसार थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि म्याद थप गरेर कारबाही अगाडि बढाइएको स्रोतको भनाइ छ।