अर्घाखाँची— श्रीमतीसँग अवैध सम्बन्ध राखेको आशंकामा एक व्यक्तिले आफ्नै सहोदर भाइको हत्या गरेका छन्। अर्घाखाँचीको शितगंगा नगरपालिका–६ पाखापानीमा भएको घटनामा ४२ वर्षीय टेकबहादुर बादीले ३२ वर्षीय कान्छा भाइ ओमबहादुर बादीलाई बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक दीपक सिंह विष्टका अनुसार हत्या आरोपी टेकबहादुरलाई बिहीबार पक्राउ गरिएको हो। उनी भारततर्फ जान लागेको अवस्थामा पक्राउ परेका हुन्।
स्थानीयका अनुसार अविवाहित ओमबहादुरको घरमा आचरणको विषयमा पहिल्यैदेखि विवाद हुँदै आएको थियो। तीन दाजुभाइमध्ये ओमबहादुर माइला दाजु टेकबहादुर र भाउजुसँगै बस्दै आएका थिए। श्रीमतीसँग आँखा लगाएको भन्दै झगडा हुँदा टेकबहादुरले भाइमाथि बञ्चरो प्रहार गरेका थिए।
प्रहरीका अनुसार झगडाका बेला दुवै जना मादक पदार्थ सेवन गरेका थिए। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।