भक्तपुर— सुर्यविनायक नगरपालिका–५ स्थित कटुन्जे क्षेत्रमा स्थानीय नियम विपरीत गएराति ९ बजे अघि सञ्चालनमा आएको टिप्पर अनुगमन गर्ने क्रममा सुर्यविनायक–कटुन्जे प्रहरी चौकी र स्थानीयबीच अवस्था तनावपूर्ण बनेको छ। नियम कार्यान्वयन गर्न खोज्दा प्रहरीको कदम सराहनीय देखिए पनि त्यसपछि देखिएको व्यवहारले विवाद निम्त्याएको हो।

प्राप्त जानकारी अनुसार, गएराति करिब ८ः३० बजे सवारी चालकले आवश्यक कागजात नदेखाएपछि प्रहरी र चालकबीच भनाभन भएको थियो। प्रहरी र चालकबीच भनाभन भएपछि स्थानीय बासिन्दाहरू सडकमा आएर घटनास्थल घेरेका थिए। घटनामा चर्को स्वर सुनिएपछि नजिकै बसोबास गर्ने दुई महिला पत्रकार घटनास्थलमा पुगेर घटनाबारे बुझ्न खोज्दा विवादले उग्र रुप लिएको थियो।

घटनास्थल पुगेका ती स्वतन्त्र पत्रकारहरूका अनुसार, प्रहरी चौकी प्रमुखले फोटो वा भिडियो खिचेको आशंकामा मोबाइल जबरजस्ती खोसेका थिए। आफूहरू पत्रकार रहेको जानकारी दिँदा समेत प्रहरी प्रमुखले अपमानजनक व्यवहार गर्दै दुर्व्यवहार गरेको आरोप महिला पत्रकारहरूको छ। ती पत्रकारमध्ये एकले, “हामीले भिडियो खिचेका थिएनौं, तर घटना बुझ्न पाउने अधिकार हाम्रो हो,” भनेकी थिइन्।

स्थानीय केही व्यक्तिहरूले महिला पत्रकारहरूलाई समर्थन गर्दै प्रहरीलाई संयमता अपनाउन आग्रह गरे पनि केही प्रभावशाली स्थानीयहरूले उल्टै प्रहरीलाई उक्साएको देखिएको थियो। घटनामा खटिएका प्रहरी प्रमुख र सो क्षेत्र नेवारी समुदायको भएकाले जातीय पक्षपातको आरोपसमेत लागेको छ।

स्थानीय प्रभावशाली व्यक्तिहरुले महिला पत्रकारहरूप्रति प्रयोग गरेका भनिएका अभिव्यक्तिहरू—जस्तै “तिमीहरूजस्तो महिला पत्रकार हुनु पर्दैन” र “झगडा हुँदा चुप लाग्ने छोरी चाहिन्छ”— सो शब्दप्रति ती पत्रकारहरूले आपत्ति जनाएका छन्। उनीहरूका अनुसार, यस्ता भनाइले समाजमा महिलाप्रति रहेको संकुचित सोच उजागर गर्छ।

स्थिति झन् चर्किएपछि प्रहरी प्रमुखले ती पत्रकारहरूलाई महिला प्रहरीको अनुपस्थितिमै प्रहरी भ्यानमा बस्न आदेश दिएका थिए। पत्रकारहरूले कानुनी हैसियतमा यस्तो कदम अस्विकार गर्दै महिला प्रहरी माग गरेपछि उच्च निकायमा खबर पुग्यो। त्यसपछि प्रेस काउन्सिल नेपालको परिचयपत्रको आधारमा उच्च निकायबाट हस्तक्षेप गरिएको थियो।

माथिल्लो तहको आदेशपछि प्रहरी प्रमुखले ती महिला पत्रकारहरूसँग औपचारिक रूपमा माफी मागेका थिए। “तपाईहरू पत्रकार हुनुहुन्थ्यो भन्ने थाहा थिएन, असजिलो भयो भने क्षमा चाहन्छु,” भनेका थिए। पत्रकारहरूले यसलाई संस्थागत जिम्मेवारीको रूपमा लिए पनि घटनाले महिलामाथि समाजमा अझै कस्तो दृष्टिकोण रहेको छ भन्ने कुरामा प्रश्न उठाएको उनीहरूको भनाइ छ।

एक पत्रकारको शब्दमा, अन्याय देख्दा प्रतिवाद गर्नु अपराध होइन—अन्यायको पक्षमा उभिनु नागरिकको कर्तव्य हो। नियम कार्यान्वयनको प्रक्रियामा समानता, मर्यादा र नागरिक अधिकारको सम्मान अनिवार्य हुनुपर्नेमा उनीहरूको माग छ ।