विराटनगर— लागू औषध गाँजा सहित तीन जना विभिन्न स्थानबाट पक्राउ परेका छन्। प्रहरीको सक्रियता तथा चेकजाँचका क्रममा विराटनगर, झापा र सुनसरीबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थित प्रहरी चौकी भरौलको टोलीले असार १२ गते चेकजाँचका क्रममा को. १ ह ९५१० नम्बरको अटोभित्र लुकाइछिपाइ राखिएको ७५ किलोग्राम गाँजा बरामद गरेको छ। उक्त अटो चालक, ईटहरी उपमहानगरपालिका–१० निवासी ४५ वर्षीय सुरतलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका–६ की ५९ वर्षीया अमृत माया लिम्बु र इलाम नगरपालिका–१२ घर भई हाल अर्जुनधारा–१ मा निर्माणाधीन पुलमा काम गरिरहेका २० वर्षीय रोशन भट्टराईलाई पनि गाँजा सहित पक्राउ गरिएको छ। उनीहरूको साथबाट १ किलो ८८८ ग्राम ६३० मिलिग्राम गाँजा बरामद भएको शनिश्चरे प्रहरी चौकीले जनाएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।