सुनसरी— सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध ब्राउन सुगरसहित ७ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले असार १३ गतेको चेकजाँच अभियानका क्रममा ब्राउन सुगरको कारोबारमा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा धरान—११ निवासी १९ वर्षीय सुअन तामाङ, २७ वर्षीय मिसन राई, धरान१५ निवासी ३२ वर्षीय रोमन शाही, २५ वर्षीय अरुण मण्डल, ३० वर्षीय सागर तामाङ, र ३१ वर्षीय प्रस्ताव राई रहेका छन्। उनीहरूको साथबाट २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर र ओसारपसारमा प्रयोग गरिएका दुई थान सवारी साधन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय भण्टाबारीको टोलीले सप्तरीको हनुमाननगर नगरपालिका निवासी २४ वर्षीय आकाश मण्डललाई कोशी गाउँपालिका–८ बाट २ ग्राम ५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
पक्राउ परेका सबै विरुद्ध लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।