बारा— बारा प्रहरीले विशेष सुराकीका आधारमा भुसले छोपेर लुकाइएको ठुलो परिमाणको गाँजासहित चार जनालाई पक्राउ गरेको छ। शनिवार बिहान वीरगञ्ज र बाराको सिमानास्थित गण्डक चोकबाट प्रहरीले सो लागुऔषध गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार बागमती प्रदेश–३–०१–२४ च ४६३० नम्बरको पिकअप भ्यानमा लुकाएर लैजाँदै गरिएको २ क्विन्टल १२ किलो गाँजा बरामद गरिएको छ। साथमा गाँजा तस्करीमा प्रयोग भएको बागमती प्रदेश–२–०२७ प २७०० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नं ४ का रवि कार्की, वडा नं १२ का वीरबहादुर मोक्तान, हेटौंडा–१४ का साजन मोक्तान र धादिङको खाक्रे गाउँपालिका निवासी महेश तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक विजयराज पण्डितका अनुसार गाँजा तस्करी भइरहेको गोप्य सूचना पाएपछि खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त गाँजा बरामद गरेको हो।
पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।