काठमाडौं—  बयानका लागि लगिएका एक थुनुवा हतकडीसहित जिल्ला अदालत काठमाडौंबाट आइतबार फरार भएका छन्।

 फरार हुने थुनुवा पश्चिम रुकुम घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका २१ वर्षीय निराजंग ठकुरी उर्फ दशरथ शाही रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी गत जेठ ३० गते चोरीको अभियोगमा पक्राउ परेका थिए।

प्रहरीका अनुसार शाहीलाई अदालतमा बयानका लागि ल्याइएको थियो। सो क्रममा उनले शौचालय जानुपर्ने बहाना बनाएर हतकडीसहित फरार भएका हुन्। घटनापछि प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले शाही फरार भएको पुष्टि गर्दै भने, 'थुनुवा फरार भएका छन्, खोजी कार्य जारी छ।' शाहीमाथि प्रहरी वृत्त सोह्रखुट्टेबाट अनुसन्धान भइरहेको जनाइएको छ।

प्रहरीले उनको विवरण सर्वसाधारणलाई जानकारी गराउँदै देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ।