काठमाडौं— काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा पक्राउ परेका छन्। आइतबार बिहान पौने ११ बजे जिल्ला अदालत काठमाडौंबाट २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही भागेका थिए।

उनलाई प्रहरीले साँझ ५ बजेतिर गोंगबु बसपार्कमा रहेको मल क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

रुकुम पश्चिम घर भई गोंगबु बस्ने शाहीलाई प्रहरी वृत्त सोह्रखुट्टेले जेठ २० गते पक्राउ गरेको थियो।

चोरी मुद्दामा अनुसन्धान सकेर उनलाई थुनछेकका लागि अदालतमा लगिएको थियो। अदालतको पहिलो तलामा रहेको ४ नम्बर इजलासमा उनको थुनछेक भइरहेको थियो ।

प्रहरीका अनुसार झ्यालबाट हाम फालेपछि उनले लगाइरहेको ज्याकेट फुकालेर हतकडी लुकाएका थिए।