विराटनगर— झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूमा गरिएको प्रहरी कारबाहीमा लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ।
वडा प्रहरी कार्यालय भद्रपुर, झापाको टोलीले भारतबाट नेपाल प्रवेश गर्ने क्रममा बिर्तामोड नगरपालिका–४ का ३२ वर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यस्तै, प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३ का २६ वर्षीय बिर बहादुर राजबंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।
यस्तै लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको शनिश्चरे–८ निवासी ३२ वर्षीय उजिर लिम्बुलाई विराटनगर–१५ स्थितबाट २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
सुनसरीतर्फ, अस्थायी प्रहरी चौकी अमरहाट, धरानको टोलीले चेकजाँचको क्रममा धरान–१३ स्थित यात्रुबाहक बसबाट सवार धनकुटा सहिदभुमी गाउँपालिका–२ का ५४ वर्षीय तेज बहादुर राईलाई ५५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो।
यसैगरी, इलाका प्रहरी कार्यालय देवानगंज, सुनसरीले देवानगंज–३ निवासी १८ वर्षीय राज कुमार यादवलाई उनकै घरबाट ६ किलो २८० मिलिग्राम गाँजा सहित पक्राउ गरेको छ। सोही घटनामा संलग्न रहेको आशंकामा १८ वर्षीय राजु यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।