काठमाडौं— चर्चित पत्रकार दिलभूषण पाठक काठमाडौं जिल्ला अदालतमा आज बिहान उपस्थित भएका छन्। जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार पाठक बिहान ९ बजे अदालत पुगेका हुन्।
पाठकविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा साइबर ब्यूरोमार्फत् मुद्दा दर्ता गरिएको थियो। सरकारी वकिलको कार्यालयले उजुरीको आधारमा उनीमाथि “विद्युतीय माध्यममार्फत गैरकानुनी सामग्री प्रकाशन” गरेको अभियोग लगाएको हो।
आजै अदालतमा पाठकको बयान लिने र त्यसपछि थुनछेक बहस सुरू गर्ने तयारी गरिएको छ।
साइबर ब्यूरोमा परेको उजुरीअनुसार, पाठकले आफ्नो युट्युब च्यानलबाट प्रसारण गरेको एक भिडियोमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको हिल्टन होटलमा लगानी रहेको विषय प्रस्तुत गरिएको थियो। उक्त सामग्रीले “सामाजिक प्रतिष्ठा, सार्वजनिक नैतिकता र शिष्टाचारमा आँच पुर्याएको” भन्दै उजुरी परेको थियो।
यसअघि साइबर ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पाठकलाई पक्राउ गर्न खोजेको थियो। उनी केही समयदेखि फरार सूचीमा रहेका थिए।
अब अदालतले बयानपछि थुनछेक बहसको निर्णय गर्नेछ।