काठमाडौं— सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सेवाबाट बर्खास्त गरेको छ। उनीहरूलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी कारबाही गरिएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जनाएका छन्।
अदालतले सवा २ करोड रुपैयाँभन्दा बढी अपचलन भएको ठहर गर्दै २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा असुल गर्ने आदेश पनि दिएको छ।
यो प्रकरणमा अवकाशप्राप्त जमदार आत्मराम थापा र सेनानी लक्ष्मण अधिकारीलाई पनि दोषी ठहर गरिएको छ। थापा थुनामा छन् भने अधिकारी अमेरिका भागेका छन्।
उनीहरूले सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गतको आवास तथा बीमा शाखाबाट काल्पनिक नाममार्फत रकम निकासी गरी हिनामिना गरेको पुष्टि भएको अदालतको ठहर छ।