सिमकोट — हुम्लाको खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकाका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीय बासिन्दा सञ्चार समस्यामा परेका छन्।
खार्पुनाथ गाउँपालिका–१ का पिउस, बोच्चेगौंडा, सुनखाडा र वडा नं। ३ का राया, कारङ्गालगायत क्षेत्रमा दुई हप्तादेखि टेलिफोन सेवा दिनमा बन्द हुने र केवल रातमा सीमित रूपमा चल्ने समस्या देखिएको छ।
सर्केगाड गाउँपालिकाको स्याल्तडी, रीप, उनापानी तथा पालिका केन्द्रमा पनि नेटवर्क समस्या देखिएको छ। स्थानीयले टावर देखिए पनि फोन नलाग्ने गुनासो गरेका छन्।
यस्तै, चङ्खेली गाउँपालिका केन्द्र पिप्लाङमा करिब एक महिनादेखि टेलिफोन सेवा बन्द छ। सञ्चारका लागि डाँडाकाँडा चढ्नुपर्ने अवस्था आएको छ।
गाउँपालिकामा नेपाल टेलिकमको टावरले राम्रो काम नगरेको, फोरजी टावर निर्माण प्रक्रिया थालिए पनि अपूरो रहेको, र इन्टरनेट सेवा पनि भरपर्दो नभएको प्रमुख प्रशासकीय अधिकृत दीपक गिरीले जनाएका छन्।